मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: १०:०७ |सिड्नीको समय: ०८:०७ |काठमाडौंको समय: ०३:५२

रवि लामिछानेको प्रश्न : जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?’

एएनजेड खबरअप्रिल १७, २०२४

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा आफ्नो नाम जोडिएपछि आक्रोश पोखेका छन् ।

‘कान्तिपुर लगायतका केही मिडियाहरुले आज फरक तरकारी पस्केछन् भन्दै सञ्चारमाध्यममाथि खनिएका गृहमन्त्री लामिछानेले जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो भनेर प्रश्न गरेका हुन् । ‘कान्तिपुर लगायतका केही मिडियाहरुले आज फरक तरकारी पस्केछन्। ‘आलु काउली’ खाँदा खाँदा वाक्क लाग्याथ्यो । आज ‘काउली आलु’आएछ। फरक त्यत्ति हो।’ उनले भनेका छन् ।

२ बुँदामा सामाजिक सञ्जालमार्फत सुप्रिममाा आफ्नो संलग्नताबारे प्रष्ट पार्ने कोसिस गरेका गृहमन्त्री लामिछानेले भनेका छन्, ‘रवि लामिछानेको नाममा फेक धितो ऋण खाता क्रिएट गरी ऋण प्रवाह भएको देखाइएको हो ऋण लिएको होइन, मेरो ब्यतिगत खातामा सहकारीको पैसा आएको लिएको गएको केही होइन, छैन। अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाइसी फर्म, तिनपुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन कि कसैले नाम लेखिदिनु भनेको भरमा रबि लामिछानेको नाम लेखिदिएको मात्रै हो। के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?’

आफू सहकारी ठगी कार्यमा कहि कतैवाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टी हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न पनि उनले अनुरोध गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नाममा सुप्रिमबाट एक करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको हो । तर, जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई प्रतिवादी नबनाइ रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र गरेको छ । प्रहरीले अनुसन्धानमा लामिछानेको नाममा प्रक्रिया नपुर्याएर ऋण लिएको उल्लेख गरेको छ।

तपाइँको प्रतिक्रिया