शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १६:४१ |सिड्नीको समय: १४:४१ |काठमाडौंको समय: १०:२६

‘महाजात्रा’ले गर्यो अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख व्यापार, सिड्नीमा अत्यधिक प्रदर्शन

एएनजेड खबरअप्रिल २०, २०२४

काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ले अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख व्यापार गरेको छ । अष्ट्रेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने पहिलो नेपाली फिल्म पनि ‘महाजात्रा’ बनेको छ।

प्रदर्शनको चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको हो ।

नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित भएको बताए।

अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टका अनुसार नेपालपछि अष्ट्रेलियामा ९० बढी शो, अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भइसकेको छ।

यस्तै, अष्ट्रेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म ‘महाजात्रा’ बनेको छ। अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ। यति शो अहिलेसम्म सिड्नीमा कुनै नेपाली फिल्मको गरिएको छैन।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्। षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ

तपाइँको प्रतिक्रिया