शनिबार, वैशाख २९, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०५:५२ |सिड्नीको समय: ०३:५२ |काठमाडौंको समय: २३:३७

कतार पुगेका ६ सय बढी नेपाली अलपत्र, सहजीकरण गर्दै एनआरएनए

एएनजेड खबरअप्रिल २८, २०२४

काठमाडौं । रोजगारीका कतार पुगेका ६ सय बढी नेपाली कामदार अलपत्र परेका छन् । कतारको अल जावर पार्टनर्स् कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब नपाएपछि अलपत्र अवस्थामा रहेका छन् । कम्पनीले तलब दिने भनेर झुक्याएको र अहिले आफूहरूसँग खाना खाने पैसा पनि नभएको उनीहरूले बताएका छन् ।

उनीहरू समस्यामा परेको जानकारी पाएपछि गैरआवासीय संघ (एनआरएनए) कतारले सुरुमा केही खाद्यान्न सामग्री उपलब्ध गराएको थियो, ‘सुरुमा हामी आफैं गएर खाद्यान्न बाँड्यौं,’ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले भने, ‘त्यसपछि कतारको मिनिस्ट्री अफ लेवर डिपार्टमेन्टमा फलो गर्यौं अनि ह्युमन राइट्समा केस दर्ता गर्यौं, त्यति मात्र नभएर दोहास्थित नेपाली दूतावासमा गएर श्रमसहचारीलाई पनि भेटेर नेपाली कामदारको समस्या’ जानकारी गरायौं ।’

पछिल्लो समय रोजगारदाता कम्पनीले साइट नचलेको भन्दै कामदारलाई काम, तलब र खानासमेत नदिएर समस्यामा पार्ने गरेका छन् । यस्तै, कतारस्थित अल जावर पार्टनर्स कम्पनीमा कार्यरत ६ सय २५ जना नेपाली कामदार अलपत्र परेपछि एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले श्रममन्त्री डीपी अर्याललाई भेटेर कामदारका समस्या सुनाएका छन् ।

तपाइँको प्रतिक्रिया