सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ०९:४४ |सिड्नीको समय: ०७:४४ |काठमाडौंको समय: ०३:२९

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस काठमाडौँमा

एएनजेड खबरअक्टोबर २९, २०२३

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका लागी गएराति काठमाडौँ आइपुगेका छन्। महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका हुन्।

राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि संघीय संसद् भवन नयाँबानेश्वरमा भेटवार्ता गर्नेछन्।

त्यसैगरी उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।

भ्रमणका क्रममा गुटेरेस भोली नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम पनि रहेको बताइएको छ । उनले मङ्गलबार बस्ने संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया