सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ०७:१४ |सिड्नीको समय: ०५:१४ |काठमाडौंको समय: ००:५९

नेपालमा समलिंगी विवाह दक्षिण एसियाकै ऐतिहासिक उपलब्धी : अष्ट्रेलियन दूताबास

एएनजेड खबरनोभेम्बर ३०, २०२३

काठमाडौं । नेपालमा कानुनी रुपमा समलिंगी विवाह दर्ता भएकोमा नेपालस्थित अष्ट्रेलियन दूताबासले बधाई दिएको छ । लमजुङको दोर्दी गाउँपालिकाले समलिंगी जोडीको बुधबार विवाह दर्ता गरेपछि दूताबासले दक्षिण एसियामा ऐतिहासिक उपलब्धी हासिल गरेकोमा नेपाल सरकार र समुदायलाई बधाई दिएको हो ।

दूताबासले विहीबार फेसबुकमार्फत समलिंगी विवाहलाई समुदाय, देश र एसिया क्षेत्रका लागि कोशेढुङ्गा भएको पनि जनाएको छ । ‘समुदायका र समर्थकहरूको अथक लबिङ, वकालत र दुई दशक भन्दा बढी समय कानुनी लडाइँ साथै समावेशी समाजको सुनिश्चितताको लागि नेतृत्व गरेकोमा दोर्दी गाउँपालिका वडा नम्बर दुई कार्यालयको प्रशंसा गर्दछौं’, दूताबासले भनेको छ ।

दोर्दी गाउँपालिका २, अर्चलबोटको कार्यालयले बुधबार विवाह दर्ता गरेको हो । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार वडा कार्यालयले विवाह दर्ता गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उन अनुसार अनुसार दोर्दी गाउँपालिका २, सल्लाबोटका रामबहादुर गुरुङ (माया गुरुङ) ले नवलपरासीको कावासोती नगरपालिका ८, का सुरेन्द्र पाण्डेसंग समलिंगी विवाह गरेको हो । दुवैले दोर्दी गाउँपालिका २, अर्चलबोटस्थित वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएकोमा वडा कार्यालयले विवाह दर्ता गरेको वडाअध्यक्ष गणेशबहादुर खत्रीले बताए ।

गाउँपालिका अध्यक्ष अधिकारीले समलिंगी विवाह नेपालमै पहिलो भएको दाबी गरे । समलिंगी विवाह उनीहरुको अधिकार भएको र यो नेपालमा मात्रै नभएर सम्भवतः दक्षिण एसियामै पहिलो घटना भएको उनले बताए ।

सुरुमा गाउँपालिकामा विवाह गर्न निवेदन दिएकोमा गाउँपालिकाको समन्वयमा दुवैले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा निवेदन दिएपछि वडामै विवाह दर्ताको बाटो खुलेको हो । विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएसंगै वडा कार्यालयमै विवाह दर्ता भएको हो ।

तपाइँको प्रतिक्रिया