शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: १८:०७ |सिड्नीको समय: १६:०७ |काठमाडौंको समय: ११:५२

‘खोक्पा’ लिएर आए डीआर

एएनजेड खबरजनवरी २, २०२४

काठमाडौं । गीतकार तथा आख्यानकार दिनेशकुमार राई (डीआर) को कथासंग्रह ‘खोक्पा’ बजारमा आएको छ । हालै एक भब्य समारोहबीच खोक्पाको बिमोचन समेत गरिएको छ ।

एघारवटा कथा संग्रहित ‘खोक्पा’को पेज टर्नर प्रालिका अध्यक्ष भुवनहरि सिग्देल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ समालोचक महेश पौड्याल, सञ्चारकर्मी हेम भण्डारी, समालोचक निमग्ना घिमिरेले संयुक्त रूपमो विमोचन गरेका थिए ।

लोकार्पित कथासंग्रहमा बूढो रूख, पुच्का, परिवर्तन, परिणाम, हराएको सपना, रवि, नयाँ बाकस, गाड्धन, लाहुरेको निसानी, मायाको चिनो र लङ्गडो साथी गरी एघार कथा सङगृहीत छन्।

कथामा प्रकृति र मानिस बिचको सम्बन्ध, वैदेशिक रोजगारीले पिल्सिएको नेपाली समाज र समाधानको बाटो, जेष्ठ नागरिकहरूको पीडा, बाल्यकालीन स्मृति, ग्रामीण जीवन शैली, स्थानीय भाषा, संस्कार र सस्कृतिलाई कथाकारले सुन्दर ढंगले प्रस्तुत गरेका छन्। कथाकारले प्रकृति संरक्षणको सचेतना, खस्कँदो मानवीय संवेदनाप्रति चिन्ता, सम्बन्ध र सहकार्यप्रति चासो पनि देखाएका छन्।

उनले समाजको विकृति मात्रै उठाएका छैनन् समाधानको भरपर्दो बाटो पनि देखाएका छन्। उनले प्रस्तावनामा लेखेका छन्, ‘आमाले दिएको अमूल्य जीवनलाई सार्थक बनाउन साहित्यभित्र फेरि अर्को जीवन खोज्ने प्रयास गरेको छु।’

यसअघि तिलस्मी उपन्यास लगाएत सात वटा कृति बजारमा ल्याई सकेका राई गीत लेखनमा पनि उत्तिकै अव्वल रहेका छन् । लेखक राईले अहिलेसम्म नेपाली साँगितीक फिल्डमा झण्डै सात वटा गीति एल्वम समेत नेपाली श्रोतालाई दिई सकेका छन् । फोटोग्राफी पेशालाई जीवन निर्वाहको बाटो अपनाएका डिआर समीक्षा र समालोचनामा पनि उत्तिकै कलम चलाएका छन्।

साहित्यप्रति रुचि राख्ने दर्जनौ मानिसहरु उपस्थित त्यस विमोजन कार्यक्रमा दर्शक, श्रोताले सरल स्वाभाव एवं मृद्धभाषि राईको उत्तिकै प्रसंसा गरेका थिए । आगामी दिनमा पनि राईको साहित्यीक यात्रा निरन्तर अगाडी बढ्ने विश्वास सहित दर्शकहरुले राई प्रति शुभेक्षा समेत व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया