आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०५:२६ |सिड्नीको समय: ०३:२६ |काठमाडौंको समय: २३:११

क्यानडा नेपालमा क्रिकेट खेल्न इच्छुक, क्यानले सार्वजनिक गर्यो बार्षिक तालिका

एएनजेड खबरजनवरी ४, २०२४

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक ए टीम बनाउने घोषणा गरेको छ । बिहीबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले ए टिम बनाउने घोषणा गरेका हुन् ।

उनले आगामी प्रधानमन्त्री कपपछि ए टीमको घोषणा गरिने बताए । टी–२० विश्वकपका लागि छनोट भएको क्यानडाले नेपालमा खेल्न इच्छा व्यक्त गरेको र आगामी फेब्रुअरीमा क्यानडा नेपाल आउने उनले जानकारी दिएका छन् ।

क्यानडासँग नेपालको ए टीमले कम्तीमा तीन ओटा एक दिवसीय र टी–२० खेल्ने तयारी भइरहेको खड्काले जानकारी दिए । क्यानका म्यानेजर विनोद दासले यू–१९ टिममा खेलेर अनुभव बटुलेका तथा राष्ट्रिय टीममा राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरुलाई समेटेर ए टिम बनाइने जानकारी दिएका छन् ।

क्यानले वार्षिक खेलतालिका सार्वजनिक गर्ने क्रममा सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो ।

नेपालले आईसीसी विश्वकप लिग दुई, टि–२० सिरिज, एक दिवसीय लगायतका सिरिजलाई खेल तालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ ।

त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टी–२० सिरिज खेल्ने खेल तालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ ।

त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टी–२० खेल खेल्ने छ । यसैगरी क्यानले आफ्नो खेल तालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेल तालिकामा समावेश गरिने बताए ।

तपाइँको प्रतिक्रिया