सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०८:२४ |सिड्नीको समय: ०६:२४ |काठमाडौंको समय: ०२:०९

अष्ट्रेलियामा १९औं न्याभ कपको तयारी सुरुः १० हजार डलर पुरस्कारको घोषण

एएनजेड खबरजनवरी ८, २०२४

मेलवर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले डोनेथ रिजर्भ रिजर्भोयरमा १४ जनवरीदेखि हरेक आइतबार न्याभ कप क्रिकेट आयोजना गर्ने भएको छ ।

१४ जनवरी २०२४ मा सुरु हुने बहुप्रतीक्षित १९औं न्याभ कपको विषयमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १७ वटा समूहले प्रतिस्पर्धा गर्ने जानकारी गराइयो ।

यस्तै न्याभले यसपटक पुरस्कारको राशि बढाउँदै करिब १० हजार डलर पुर्याएको छ । न्याभ कप आयोजक मूल समितिका संयोजक तथा संस्थाका अध्यक्ष प्रेमराज उप्रेतीले प्रथम पुरस्कार ५ हजार डलर, द्वितिय पुरस्कार १ हजार ५ सय डलर, ट्रफी र मेडल रहने जानकारी दिए । यस्तै व्यक्तिगत पुरस्कारहरु ९म्यान अफ द म्याच, प्लेयर अफ द टूर्नामेन्ट० लगायतमा धेरै पुरस्कारहरु दिइने उप्रेतीले बताए ।

म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा फारवेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, डाँफे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स क्लब, चितवन क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, नारे किंग्स, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन र माभेन क्रिकेट क्लब गरी १७ समूहहरुले उपाधिको निम्ती प्रतिस्पर्धा गर्ने भएका हुन्

अध्यक्ष उप्रेतीले न्याभ कपको इतिहासमा अहिलेसम्मकै उच्च सहभागिता तय भएको बताए । उनले भने, ‘सहभागि क्रिकेट समूहमा भएको यो वृद्धिले भिक्टोरियामा रहेका नेपाली समुदायमा न्याभ कपको लोकप्रियता बढ्दै गइरहेको छ, न्याभ कप अब ब्राण्ड भइसक्यो।’

यस्तै मुख्य प्रायोजक म्याक्सीम्याक्सका निर्देशक शंकर धरेलले भिक्टोरियाका नेपाली तथा बहुँसांस्कृतिक समुदाय मात्र नभएर नेपालमा समेत न्याभ कपको महत्व र चर्चा बढ्दै गएको अवस्थामा आफूहरु पनि यस्को हिस्सा बन्न खोजेको बताए । ‘न्याभ कपको बहुआयामिक महत्व रहेको छ, भिक्टोरिया मात्र नभएर यसको चर्चा नेपालमा समेत बढेको छ, यस बहुआयामिक क्रिकेट कपलाई सहयोग गर्नु हाम्रो एक दायित्व पनि हो’ उनले भने ।

पत्रकार सम्मेलनमा न्याभका कोषाध्यक्ष डा.यकेन्द्र तिम्सिनाले न्याभ कपलाई भव्यताका साथ सम्पन्न गर्नको निम्ती साथ दिने प्रायोजक, क्रिकेट क्लबहरु, सामाजिक संघसंस्था, मिडियालाई धन्यवाद दिए ।

उक्त अवसरमा छैठौं च्यारिटी कप पनि हुनेछ । उक्त कपमा संकलन भएको रकमले नेपाल क्रिकेट संघ (क्यान)लाई सहयोग गरी नेपालमा क्रिकेटको विकास र विकासमा टेवा पुर्याउने लक्ष्य रहेको न्याभले जनाएको छ । १० मार्चमा हुने ग्रान्ड फिनालेमा नेपाली क्रिकेटका दिग्गज दीपेन्द्र ऐरी र कुशल मल्ललाई सद्भावना दूत नियुक्त गरिएको छ । फाइनलमा ऐरी र मल्लसहित क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई नेपाली क्रिकेटमा उल्लेखनीय योगदान पुर्‍याएकोमा अभिनन्दन गरिनेछ ।

कार्यक्रमको संचालन एनएभीका अध्यक्ष प्रेमराज उप्रेतीको नेतृत्वमा रहेको मुख्य कार्यक्रम व्यवस्थापन समितिले गरेको छ । समितिमा एनआरएनए उपाध्यक्ष तथा एनएसडब्ल्यू संयोजक विनोद कुँवर, जेएसएस अध्यक्ष विनित शर्मा, एनआरएनए भिक्टोरिया उपाध्यक्ष महादेव धानुक, एनआरएनए भिक्टोरिया सचिव शसेन्द्र केसी, भिएनसीए अध्यक्ष सुजित बस्नेत, एनआरएनए युवा सचिव पुकार घिमिरे, म्याक्सिमेक्स एजुकेशन एन्ड माइग्रेसनका निर्देशक शंकर धरेल रहेका छन् ।

कार्यक्रमको सफलताको लागि,धेरै उपसमितिहरू गठन भएका छन् । न्याभ कपमा क्यानबेरास्थित नेपाली दूतावास र राजदूत कैलाशराज पोखरेलसँगको सहकार्यको घोषणा समेत न्याभले पत्रकार सम्मेलनमा गरेको छ ।

राजदूतले पोखरेलले १९औँ न्याभ कपको प्रवद्र्धनमा ठूलो उत्साह प्रकट गर्दै नेपाली क्रिकेटको दृश्यतालाई विस्तार गर्न पूर्ण सहयोग गर्ने आश्वासन दिएको उप्रेतीले जनाएका थिए ।

म्याक्सीम्याक्सको मुख्य प्रायोजनसँगै प्लेटिनम पार्टनर टाइम्स इन्टरनेशनल कलेज, हस्पिटालिटी पार्टनर ओल्ड दरबार, ट्राभल पार्टनर बुद्ध ट्राभल्स, किराना पार्टनर जाम किराना जाम नेपाली बजार, फोटोग्राफी पार्टनर फोटो स्टेशन, ड्राइभिङ पार्टनर अबिसा ड्राइभिङ स्कूल, गोल्ड पार्टनर डेस्टिनी होम्स, गुडविल फाइनान्स, एस्कन होम्स, एक्स्ट्राटेक, सिएरा होम्स, ब्लू लोटस कलेज, लौरस एजुकेशन, सपोर्टर्सहरुमा एभरेष्ट प्रोपर्टी, नारायण पुरोहित सेवा, नमस्ते रेमिटेन्स, एपीबी पार्टनर्स, बेटर च्वाइस मोर्टगेज, आरजे आउटडोर, सेन्ट्रल अस्ट्रेलियन कलेज, चौतारी मीट पसल, ल्यान्डभाइजर फाइनान्स, संगठनात्मक सहयोगी एनआरएनए अष्ट्रेलिया, एनआरएनए भिआईएस रहेका छन् ।

न्याभ कप सम्पन्न गर्नको निम्ती नेपालस्थित अष्ट्रेलियाली दूतावास र नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गरिएको बताइएको छ । म्याक्सीम्याक्सको कार्यालयमा भएको पत्रकार सम्मेलनको सञ्चालन न्याभका प्रवक्ता तथा सचिव आलोक पौडेलले गरेका थिए । उक्त अवसरमा खेलाडी टोलीहरुको समूह विभाजन समेत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया