शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: १९:३५ |सिड्नीको समय: १७:३५ |काठमाडौंको समय: १३:२०

पहिलो पटक विदेश जाने नेपालीको संख्या दैनिक १२ सय

एएनजेड खबरमार्च २९, २०२४

काठमाडौं । रोजगारीका लागि पहिलो पटक विदेश जाने नेपालीको संख्या दैनिक औषतमा एक हजार एक सय ८८ जना देखिएको छ । यो संख्या पुनः श्रमस्वीकृति लिएर जानेबाहेक पहिलो पटक जानेको मात्र हो ।

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा नयाँ र पुराना गरी ४ लाख ६८ हजार १ सय ३५ जना विदेश गएका छन् । यसमध्ये पहिलो पटक नयाँ श्रमस्वीकृति लिएर जानेको संख्या २ लाख ८५ हजार ३ सय ५२ जनामात्र हो । यो औषतमा दैनिक १ हजार १ सय ८८ जना हो । यसलाई प्रतिमहिनाका हिसाबले हेर्दा औषतमा ३५ हजार ६ सय ६९ जना हुन आउँछ ।

यो ८ महिनामा पुनः श्रमस्वीकृति लिएर जानेको संख्या भने एक लाख ८२ हजार ७ सय ८३ मात्र छ । यो औषतमा दैनिक ७ सय ६१ जना हो । नयाँ र पुराना गरी दैनिक औषतमा १९ सय ५० जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । यो तथ्यांकअनुसार कामका लागि विदेश जाने कुल संख्यामा नयाँको हिस्सा झण्डै ६१ प्रतिशत देखिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आन्तरिक रोजगारीको क्षेत्र संकुचित बन्दै जाँदा विकल्प खोज्दै विदेशिने नयाँ युवाको संख्या चालु आवमा समेत उच्च देखिएको छ । दुई वर्षअघिको सामान्य अवस्थामा नेपालबाट मासिक औषत २४ हजार नयाँ युवामात्र वैदेशिक रोजगारीमा जाने गरेकोमा दुई वर्षयता यसको दरमा वृद्धि भएको छ ।

विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि फागुनसम्मको तथ्यांकले ४ लाख ६८ हजार १३५ मध्ये नयाँको हिस्सा ६१ प्रतिशत रहेको देखाएको छ ।

तपाइँको प्रतिक्रिया